काठमाडौँ- बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन्। भक्तपुरको ठिमीस्थित निवासबाट शुक्रवार बिहान साढे ११ बजे सम्बोधन गर्दै प्रसाईंले आफूलाई नजरबन्दमा पारिएको बताएका हुन्।
‘म हाउस एरेस्टमा छु। मलाई एरेस्ट गरेर केही हुँदैन, सक्नुहुन्छ भने मलाई तपाईंहरूको हिरासतमा लैजानुस्। हाउस एरेस्ट गरेर केही फरक पर्दैन,’ प्रसाईंले भने। शुक्रबार ११ बजे हुने भनिएको प्रसाईंको आन्दोलन कहाँ हुने भन्ने अन्योल देखिएको छ।
प्रसाईंले आफूलाई घरबाट निस्किन नदिइएको भन्दै तीनकुने जान समर्थकहरूलाई अपिल गरेका छन्। आफू निस्किन नपाएपछि सबै कमान्डर बनेर खटिने उनको भनाइ छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्रसाईंको घर वरपर सुरक्षा बढाइएको जानकारी दिइन्। उनले प्रसाईंलाई नजरबन्द गरिएको भन्ने कुरा गलत भएको बताइन्।


