उर्लाबारी- मोरङ उर्लाबारीको आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। आगलागीमा परेर गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको हो।
सोमबार राति उर्लाबारी-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा कीर्तिपुर अस्तपालमा मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो। मृतक पाँचै जनाको कीर्तिपुरमा नै उपचारका क्रममा मृत्यु भएको हो।
कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए।
सोही घटनामा परी घाइते भएका बाँकीको काठमाडौंमा उपचार जारी छ।
यसअघि उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ६८ वर्षीय रुकुम बहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो। उनको शरीरको ४० प्रतिशत भाग जलेको थियो।
मंगलबार बिहान उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो। उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो।
त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो। उनको ५० प्रतिशत भाग जलेको थियो।
अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो। तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो। त्यसक्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्धारका लागि प्रहरी पुगेको थियो। त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगाको लप्काले भेटेको थियो।
बाटोमा उभिएकाहरूलाई पनि घाइते बनाउने गरी सिलिण्डर विष्फोट भएको थियो।


