उत्तराखण्ड- विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले कामदार फसेको १७औँ दिनमा सकुशल बाहिर निकालिएको जानकारी दिएका हुन्। मंगलबार अबेर उनीहरु सबैको उद्धार भएको हो।
बाहिर निकाल्नेबित्तिकै उनीहरुलाई मुख्यमन्त्री धामीले भेट गरेका थिए। उद्धारपछि उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लगिएको थियो। १७ दिन अघि दीपावलीको दिन उत्तराखण्डमा सुरुङमा काम गरिरहेका ४१ कामदार बीचमा पहिरो खसेपछि बीचैमा फसेका थिए।
उनीहरुको उद्धार गर्न सुरुमा अर्को सानो सुरुङ बनाउने योजना बनाइयो। त्यो अनुसारक काम पनि भएको थियो। तर बीचमै ड्रिलिङ मेसिन बिग्रिएपछि म्यानुअल रूपमा नै सुरुङ खन्ने काम भयो।
यसरी तयार भएको सुरुङमा ३ फिट चौडा भएको पाइप घुसाइएको थियो। पाइपमा स्ट्रेचर पठाइयो। उक्त स्ट्रेचरमा कामदारलाई सुताएर तानेर बाहिर निकालिएको थियो।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ। १७ दिनसम्म बाहिरबाट पठाइएको अक्सिजन, खाना र पानीको साहरमा उनीहरुले गुजारेका थिए। बीचमा पटकपटक सम्पर्क हुँदा पनि आफूहरू नआत्तिएको उनीहरूको भनाइ रहेको मुख्यमन्त्री धामीले उल्लेख गरेका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुङमा फसेपछि उद्धार गरिएका ४१ जना मजदुरसँग फोनवार्ता गरेका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सोसल’एक्स’ मा मोदीले ४१ मजदूरसँग कुराकानी गरेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री मोदीले उद्धार अभियानले सबैलाई भावुक बनाएको उनले बताएका थिए।




