काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ। न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ सकेको हो।
यो मुद्दामा शुक्रबार आदेश सुनाइने उच्च अदालतले जनाएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको मुद्दाका अभियुक्त नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जना पुर्पक्षका लागि कारागारमा छन्। काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। त्यसका विरुद्ध उच्चमा उनीहरूले पुनरावेदन गरेका थिए।
उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको पुर्पक्षका लागि थुनामा रहेकाहरूको जिकिर छ।
उक्त निवेदनमाथि सुनुवाइ पुरा गरेको उच्चले उनीहरु थुनामा नै रहने वा धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने विषयमा शुक्रबार आदेश दिनेछ।


