काठमाडौँ- आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर ३६ एड्स दिवस चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदैछ।
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमणका कारण चार करोड चार लाख जनाको मृत्यु भइसकेको एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएनएड्सको तथ्यांकले देखाएको छ। विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको केन्द्रको भनाइ छ।


