पोखरा- नेपाली सेनाले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई सम्मान गरेको छ। पोखरामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नगरप्रमुख आचार्यलाई प्रधानसेनापति प्रशंसा निसानबाट सम्मान गरेका हुन्।
नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियान अन्तरगत जैविक विविधता तथा पर्यावरण संरक्षण कार्यमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नगरप्रमुख आचार्यलाई प्रधानसेनापति शर्माले सो सम्मान प्रदान गरिएको हो।
नेपाली सेनाले विरलै प्रदान गर्ने यस प्रकारको सम्मान पोखरालाई प्राप्त हुँदा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण तथा त्यसको असरले प्रत्यक्ष प्रभावित समुदायको उत्थान तथा जीविकोपार्जनका लागि थप कार्यक्रमहरू तय गर्न प्रोत्साहन मिलेको नगरप्रमुख आचार्यले बताए।
जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जनजीवन प्रभावित भएको, हिउँ पग्लिएर हिमालहरू काला पत्थरमा परिणत हुँदै गएको र समग्र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर परेको प्रति सचेत रहँदै नेपाली सेनाले लामो समयदेखि हिमाल सफाइ अन्तरगतको सफा हिमाल अभियान सञ्चालन गरिरहेको छ।
हिमाल आरोहणका क्रममा जाने आरोहीहरूले गरेको प्रदूषणका कारण हिमालय क्षेत्रमा कयौँ टन फोहोर थुप्रिएकाले त्यसको सफाइका लागि बर्सेनि नेपाली सेनाले अभियान सञ्चालन गर्ने गरेको छ। पछिल्लो पटक हिमाल सफाइ अभियानको नेतृत्व गरी पोखरा आइपुगेको नेपाली सेनाका क्याप्टेन भीम बहादुर भुजेल नेतृत्वको टोलीलाई नगर प्रमुख आचार्यले महानगरपालिकाको लोगो अकिंत झन्डा सहित आर्थिक सहायता प्रदान गरेका थिए।
पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा साथ दिनु जैविक विविधता तथा पर्यावरण संरक्षण प्रति स्थानीय सरकारको प्रतिविद्धताका रूपमा आफूले लिएको प्रमुख आचार्यको तर्क छ। पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायत हिमशृङ्खलाको काखमा रहेको सहर हो’, हिमाल बिनाको पोखरा कल्पना सम्म पनि गर्न सकिदैन्। ‘टु सेभ द हिमालयज’ भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर सङ्कलन गरिएको थियो।


