विराटनगर- भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका ५ जना फरार भ्रष्टाचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो।
यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा राजस्व रकम हिनामिना गरेको भन्दै अख्तियारले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाका दोषीलाई मोरङ प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको हो।
यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष २०७१/२०७२ देखि २०७३/२०७४ को फागुन मसान्तम्मको राजस्व हिनामिनामा संलग्न देखिएकाहरु अदालतको फैसलापछि समेत फरार थिए।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ परेका पाँचजना विराटनगरवासी हुन्। उनीहरुमध्ये मणिराज दाहाल, नयनराज नेपाल, कुमार बहादुर कटवाल, टिकाराम अधिकारी, देवराज नेपाललाई सोमबार पक्राउ गरिएको हो।
‘विशेष अदालतको २०७९ चैत ८ गते बुधबारको फैसला अनुसार दोषी रही फरार रहेकाहरुलाई फैसला कार्यान्वयन अभियान अन्तर्गत पक्राउ गरेर अदालतमा पेश गरेका हौं,’ प्रवक्ता दहालले भने, ‘उहाँहरुले भुक्तान गर्नुपर्ने कैद तथा जरिवानाका आधारमा कारागार चलान समेत भईसक्नु भएको छ ।
विशेष अदालतले उपसचिव नयनराज नेपालविरुद्ध ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ बिगो जरिवाना सजाय ठहर गरेको थियो।
यसैगरी पक्राउ परेका लेखापाल मणिराज दाहालविरुद्ध ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपिँया बिगो र जरिवाना हुने ठहर गरेको थियो।
यसैगरी लेखा अधिकृत कुमार बहादुर कटवाललाई ६ वर्ष कैद र एक करोड एकलाख ६५ हजार ८१२ रुपिँया बिगो जरिवाना हुने ठहर गरेको थियो।
अर्का लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपिँया जरिवाना हुने ठहर भएको थियो।
अर्का लेखापाल देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद २२ करोड ४५ लाख २७ हजार ६७६ रुपिँया जरिवाना ठहर गरेको थियो।
विशेष अदालतले दोषी ठहर गरेकाहरुसँग बिगोको दोब्बर असुल्ने भनिएको थियो।


