टीकापुर (कैलाली)– कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरुको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन्। रातदिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन्।
टीकापुरकी महिला स्वास्थ्य स्वयम् सेविका रामप्यारी चौधरीले विगतमा स्वयम् सेविका हुन हौसिने महिला आजभोलि निराश हुन थालेका बताइन्। उनले सरकारले स्वयम् सेविकालाई काम थप्दै गएको तर सुविधा नथपेको गुनासो गरिन्।
‘सामान्य श्रमिकको ज्याला पनि दैनिक रू ६ सय छ। हामी दिनभरि काम गरेपछि रू ४ सय मात्र पाउँछौँ। आजभोलि नयाँ स्वयम् सेविका बन्न महिलाको रुचि छैन। कैलालीका पढेलेखेका स्वयम् सेविका साथी विदेश जान थालेका छन्,’ चौधरीले भनिन्, ‘कैलालीका मात्रै दर्जन बढी स्वयम् सेविका विदेश गएका छन्। त्यही ठाउँमा नयाँ स्वयमसेविका आउँछन्। उनीहरुले राम्रो काम नगरे, अर्को आउँछ यस्तै चलिरहेको छ।’
सरकारले सामान्य सुविधा दिए पनि स्वयम् सेवामा आकर्षण बढ्ने स्वयम् सेविका बताउँछन्। ‘हामीले गाउँघरमा क्लिनिक, खोप कार्यक्रम, आमा समूहका बैठक तथा वडा र नगरपालिकाका सबै अभियानमा सहयोग गर्नुपर्छ’, स्वयम् सेविका मुक्तिधरादेवी शर्माले भनिन्, ‘हामीलाई खाजा र पानीसम्मको सुविधा छैन। घरबाट खाएर सेवा दिइरहेका छौँ।’
स्वयम सेविका रुक्मिणि शर्माले थुप्रै चुनौती पार गर्दै स्वयम् सेविका बनेको भन्दै स्वास्थ्यका कुरा महिलाले महिलासँग बढी गर्ने गरेका बताइन्। आफ्नो काममा सन्दर्भमा परिवारका पुरुषले नबुझिदिँदा समस्या हुने गरेको उनको भनाइ थियो।
‘हामीले महिला र किशोरीलाई स्वास्थ्य र पोषणबारे जनचेतना जगाउने काम गर्छौँ’, रुक्मिणिले भनिन्, ‘हामीले सिकाएको कुरा घरका पुरुषले नबुझिदिँदा महिलाका स्वास्थ्यमा समस्या अझैँ देखिन्छन्। शरीर महिलाको छ, बच्चा जन्माउने अधिकार पुरुषको छ। यस्ता समस्या अझैँ छन्।’
स्वयम् सेविका टीकापुरका संयोजक सुला रावल खत्रीले स्वयम् सेविकाले श्रमअनुसारको पारिश्रमिक नपाउँदा घरमा पनि हिंसा भोगिरहेका बताइन्। ‘पकाउँदा पकाउँदै, बारीमा काम गरिरहेका बेला पनि सामाजिक अभियानमा हिँड्नुपर्छ। फोन आयो, कोही समस्यामा आए सहयोग गर्न जानुपर्यो। यसो गर्दा घर व्यवस्थापन लथालिङ्ग हुन्छ’, उनले भनिन्, ‘बेलुका रित्तो हात, भोको पेट घर फर्कदा परिवारबाट कुरा सुन्नुपर्छ।’ खत्रीले आफूहरुको कामको सरकार, समाज र परिवारले पनि सही मूल्याकङ्न नगरेको गुनासो गरिन्।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुरमा कार्यरत सम्पूर्ण स्वम् सेविकाका सेवा सुविधा वृद्धि गर्ने बताइन्। ‘हामीले सेवा अवधिपछि अवकाश भएर घर जाँदा स्वयम् सेविकालाई बिदाईका बेला रू ८० हजार दिने गरेका छौँ। यो सुविधा पनि वृद्धि तयारीमा छौँ’, उनले भनिन्, ‘अन्य सुविधा दिन पनि सकारात्मक छौँ। छलफल गरेर उहाँहरुका माग सम्बोधन गर्ने प्रयासमा छौँ।’


