काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आगामी फागुन २० गते सकिने भएको छ।एमालेबाट निर्वाचित भएर ‘सम्माननीय’ बनेका तिमल्सिनाले ६ वर्षे कार्यकाल पूरा गरी बाहिरिने भएका हुन्।
तिमिल्सिनासँगै २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि पूरा गरेका २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिन लागेको हो।
नेपाली कांग्रेसका मुख्य सचेतक अनिता देवकोटा, राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव फागुन २० गते पदावधि सकिएर सांसदबाट बाहिरिँदै छन्।
त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पदावधि पनि फागुन २० मै सकिने छ।
माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीले पनि फागुन २० मा नै पदावधि पूरा गर्दैछन्। एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा पनि फागुन २० पछि माननीय रहनेछैनन्।
जनता समाजवादी पार्टीका (जसपा) का सांसद एवं शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि संघीय सांसदबाट बाहिरिँदै छन्।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश पदमा बहाल भएको अवस्थामा पदअघि ‘सम्माननीय’ शब्दले सम्बोधन गर्ने र पदमा बहाल रहेका सांसदहरूलाई ‘माननीय’ शब्दले सम्बोधन गरिँदै आएको छ।
कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरिएको छ।
राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४९३ गरी जम्मा २०२५ जना मतदाता रहेका छन्।
राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायमसमेत भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नयाँ मतभार तोकिएको हो।
अब प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार हुने गरी निर्वाचन आयोगले मंसिर ६ गते निर्णय गरेको छ। यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।
सत्ताधारी दलले गठबन्धनले गरी राष्ट्रिय सभा चुनावमा जान सक्ने भएकाले सत्ता गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ।
राष्ट्रियसभाको उपनिर्वाचनपछि क्रमशः प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गराउने आयोगको योजना रहेको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ। आयोगका अनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उनी निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो।
यसै गरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ।


