काठमाडाैं- क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ। शनिवार साँझ भएको खेलमा लिभरपुलले प्यालेसलाई उसकै मैदानमा हराएको हो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल भए। ५७औं मिनेटमा प्यालेसले पाएको पेनाल्टीको अवसरलाई माटेटाले गोलमा परिणत गरेका थिए। प्यालेसको अग्रता ७६औं मिनेटसम्म रह्यो। ७५औं मिनेटमा प्यालेसका जोर्डन एयू दोहोर पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। त्यसपछि लिभरपुल खेलमा फर्किएको थियो। एयूले मैदान छाडेको एक मिनेट वित्न नपाउँदै लिभरपुलका मोहम्मद सलाहले बराबरी गोल फर्काए। कोर्टिस जोन्सको पासमा उनले गोल गरेका थिए।
९१औं मिनेटमा हार्भे एलिओटले दर्शनीय गोल गरेपछि लिभरपुलले १-२ गोलको अग्रता बनाएको थियो। एलिओटले सलाहको पासमा उत्कृष्ट गोल गरेका थिए।
यो जितसँगै लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। १६ खेल खेलेको लिभरपुलले ३७ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनल ३६ अंक जोड्दै दोस्रो स्थानमा छ। प्यालेस भने १६ खेलबाट १६ अंक जोडेर १४औं स्थानमा छ।


