काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले शीर्ष डिभिजनको लिग उपाधि नजितेको चार दशक बितिसकेको छ। चालू सिजनमा पनि जित्छ/जित्दैन भन्न सकिन्न। तर भिल्लाले उपाधि दाबेदार टिमलाई कडा टक्कर भने दिइरहेको छ।
भिल्लाका प्रशिक्षक यूनाई एम्रीले खेलपछिको पत्रकार सम्मेलन सदाझैँ ‘गुड इभिनिङ’ भनेर सुरु गरे। गत बुधबार म्यानचेस्टर सिटीलाई पराजित गरेपछि उनी प्रशन्न थिए। यो खेल एम्रीको नेतृत्वमा प्रिमियर लिगको उत्कृष्ट प्रदर्शनमध्ये एक थियो।
पहुना टोली भिल्लाले साविक विजेतालाई पराजित गरेको मात्रै थिएन, निकै आक्रामक र उत्कृष्ट खेल पनि पस्किएको थियो। भिल्लाले सिटीलाई १-० गोलले हराएको थियो। भिल्लाले सिटीको पोस्टमा २२ सट हानेको थियो, सिटीले केवल २ सट मात्र प्रहार गर्न सकेको थियो।
पेप गर्डिवलाको टोलीमाथि कुनै अरु टिम यसरी हावी भएको कहिल्यै देखिएको थिएन। यूरोपका ‘टप-फाइभ’ लिगमा गर्डिवलाको टिमले यति कम प्रहार गरेको यो पहिलो पटक थियो। अर्थात् यो खराब तथ्यांक रहन गयो।
भिल्लाका खेलाडीसँग ऊर्जाको स्तर आश्चर्यजनक थियो। भिल्लाले सिटीका खेलाडीलाई ९० मिनेटसम्म दौडाए। भिल्लाले ७४ मिनेटमा एक गोल गर्यो अनि सिटीलाई उसकै मैदानमा पराजयको नमिठो स्वाद चखाइदियो। यसका मास्टर माइन्ड थिए-एम्री। उनी प्रिमियर लिगको चालू सिजनका सबैभन्दा उत्कृष्ट म्यानेजरका रुपमा देखा परे।
ठिक एक वर्ष पहिला भिल्ला ओह्रालो यात्रामा थियो। लिभरपुलका लिजेन्ड स्टेभेन जेरार्डले भिल्लामा आफ्नो प्रशिक्षणको सुरुवात शानदार रुपमा गरेका थिए। तर, उनको कार्यकाल विस्तारै असफलताको बाटो तर्फ उन्मुख बन्यो। समर्थक निराश थिए, खेलाडीले आत्मविश्वास गुमाइरहेका थिए।
फुलहम विरुद्ध ३-० गोलहको हारपछि मिडफिल्डर जोन मेकगिनले भनेका थिए- यसको हिस्सा बन्नुपर्दा लाज लागिरहेको छ।
समर्थकले पनि प्रशिक्षक परिवर्तनको माग राख्न थालेका थिए। सिजनको पहिलो तीन महिनाको अन्तरमा भिल्लाले केवल दुई खेल जितेको थियो। जसमा भिल्लाले ७ गोल गरेको थियो। अततः भिल्लालले २२ अक्टोबरमा बर्खास्त गर्यो। त्यो बेला भिल्ला गोल अन्तरका कारणले मात्रै रेलिगेसन जोन बाहिर थियो।
000
अहिले स्थिति फेरिएको छ। भिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ। शनिबार पनि भिल्लाले उस्तै उडान भरेको छ, जस्तो म्यानचेस्टर सिटी विरुद्धको उडान थियो।
शनिबार साँझ क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलले जित निकाल्नुअघिसम्म शीर्ष स्थानमा रहेको आर्सनललाई भिल्लाले घरेलु मैदानमा १-० गोलले पराजित गर्यो। योसँगै एम्रीको नेतृत्वमा रहेको टिमले क्लब रेकर्ड बनाएको छ। त्यो हो-घरेलु मैदानमा सबैभन्दा धेरै जित।
एम्री नेतृत्वको भिल्लाले घरेलु मैदानमा लगातार १५औं जित निकालेको छ। आर्सनल विरुद्धको जितसँगै भिल्लाले १६ खेल खेलेर ३५ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुल भन्दा २ अंक र दोस्रो स्थानको आर्सनलको भन्दा एक अंक कम हो।

ओली वाटिकंसले पछिल्लो सिजन सन्डे टाइम्समा एक अन्तर्वार्ता दिएका थिए। त्यहाँ उनले भनेका थिए-एम्री निकै माग भएका प्रशिक्षक हुन्। पेरिस सेन्ट जर्मेन र आर्सनलमा एम्रीले खास चमत्कार गर्न सकेका थिएनन्। तर भिल्ला पार्कमा उनले एक किसिमको चमत्कार गरिरहेका छन्। भिल्लामा उनले भिडियो विश्लेषणमा समय खर्चिए। टिम बैठक घण्टौंसम्म चलाए। भिल्लाको टिमले पनि नयाँ प्रशिक्षकको टेक्निकलाई अपनायो। सोही कारण भिल्लाले एम्रीको नेतृत्वमा सुरुवाती सात खेलमध्ये ६ खेलमा जित निकाल्यो। एम्रीले सुरुवातमा प्रशिक्षण मैदानमा प्रतिघण्टा १६ घण्टा बिताउँथे। खेलाडीले पनि मेहनत गर्न तयार देखिए।
एम्रीले केवल भिल्लालाई एकजुट मात्रै गराएनन्। उनले एक स्पष्ट पहिचान सहितको प्रोगेसिभ र प्रोएक्टिभ खेल शैली पनि दिए। एम्री रणनीतिक परिवर्तन गर्ने कुराबाट डराउँदैनन्। उनले एमिलियानो बुनेडिया र टायरोन मिंग्स जस्ता प्रमुख खेलाडीलाई भरोसा गरे। सुरुवाती लाइनअपमा स्थिरता दिए।
भिल्लारियलका पूर्व प्रशिक्षक एम्री परम्परावादी प्रशिक्षकका रुपमा पनि परिचित छन्। उनी निकै साहसी छन्। उनले गोल किपर एमिलियानो मार्टिनेजको अधिक उपयो गरेर बललाई पछाडीबाट खेल्न सुरु गरी एक उच्च लाइनका साथमा हाइप्रेसलाई प्रभावकारीरुपमा लागु गरे।
उनले स्काई स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, ‘फुटबलमा जोखिम उठाउनुपर्छ। म बललाई नियन्त्रणमा राखिराख्न कोशिस गरिरहन्छु। जब हामीसँग गोलकिपर नजिक बल हुन्छ, तब हामी बिल्डअप सुरु गर्छौं। यस्तो हुँदा कहिले हामी जित्छौं, कहिले हार्छौं। यद्यपी म बललाई नियन्त्रणमा राख्ने कोशिस गर्न मन पराउँछु।’
उनको यो साहसिक दृष्टिकोणले शानदार परिणाम पनि दियो। अघिल्लो सिजन फेब्रुअरीसम्म भिल्ला सहज स्थितीमा थिएन। तर अन्तिम १५ लिग खेल मध्ये १० खेलमा जित निकालेर सातौं स्थानमा रहँदै भिल्लाले सिजन समाप्त गरेको थियो। सन् २०१०-११ को सिजन पछि भिल्ला पहिलो पटक यूरोपियन प्रतियोगिताका लागि छनौंट हुन सफल बन्यो।
एम्रीको नेतृत्वमा सबैभन्दा बढी प्रभाव वाटकिंसमा परेको छ। गत सिजन जेरार्डको नेतृत्वमा उनले केवल २ गोल गरेका थिए। एम्रीको नेतृत्वमा उनले १३ गोल गरेका थिए। उनले सबै प्रतियोगितामा गरेर करियरकै सबैभन्दा धेरै १६ गोल गरेर सिजन समाप्त गरेका थिए। यो सिजन आफ्नै करियरको रेकर्ड तोड्ने तयारीमा उनी देखिन्छन्। उनले चालू सिजनमा २२ खेलमा १६ गोल र ६ असिस्ट गरिसकेका छन्। उनी यूरोपका शीर्ष ५ लिगमा (चालू सिजन)अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने पाँच खेलाडीको सूचीमा छन्।

एम्रीले वाटकिंसलाई बललाई एकमदै कम खेल्न प्रेरित गर्छन्। वाटकिंसले अप्रिलमा भनेका थिए- म कहिले काहिँ बक्सभन्दा बाहिर आउन चाहान्छु। तर, उनले मलाई बाहिर ननिस्कन भन्छन्। उनी स्पष्टरुपमा बाहिर ननिस्कन भन्छन्। यो सुनेर मलाई हास उठ्छ। तर हामी यो काम गर्छौं।
अब एउटा प्रश्न उठ्छ-एम्रीले भिल्लालाई कतिसम्म अघि बढाउन सक्छन्। उनले छोटो समयमै भिल्लालाई निकै अघि बढाइसकेका छन्। भिल्लाले पछिल्लो पटक लिग उपाधि १९८०-८१ मा जितेको थियो। उपाधिबारे सोधिएको प्रश्नमा एम्री जवाफ दिन रुचाउँदैनन्। तर शीर्ष स्थानका लागि लड्न सक्षम रहेको जरुर बताउँछन्।
-गोलडकमको सहयोगमा


