काठमाडौं- यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तासँग नेपाल पराजित भएको छ। समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार व्यहोरेको हो।
लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट हुन पुग्यो।
ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनीसँग कुनै खेलाडी रहेनन्। अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए। उनले १ सय ८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए।
यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।
जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले सो स्कोर खडा गरेको हो। ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए। उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए।
ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए। जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए। मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए।
पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए।
नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए।
नेपालले समूह चरणको अन्तिम खेल भारतसँग खेल्नेछ।


