काठमाडौँ- अधिवक्ता सविन श्रेष्ठले चिनजानकै व्यक्तिबाट महिला हिंसा बढी हुने गरेको बताएका छन्।
टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो भनेका हुन्।
उनले गत वर्षमात्रै नेपालमा ३ हजार ३ सय महिला हिंसा भएको जानकारी दिए। महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए। ‘लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ’, उनले भने।


