काठमाडौँ- हिन्दू धर्ममा बाला चतुर्दशीलाई शतबीज छर्ने पर्वका रुपमा लिइन्छ। नेपाल भाषामा ‘बालामु वानेगु’ भनिने यो पर्वमा मुख्यतया सय प्रकारका अन्नबालीका बिउ छर्ने गरिन्छ। संस्कृत भाषामा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हो। यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ। यो पर्वमा मुख्यतया धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकैका बीज छर्ने गरिएको पाइन्छ।
काठमाडौँको पशुपतिनाथको मन्दिरमा शतबीज छर्नेहरुको ठूलो भीड लाग्दछ। सुरुमा सप्तबीज छर्दै मृगस्थलीमा रहेका गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्दछन्।
पछि आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा शतबीज छरिन्छ। यस परिसरमा त्रयोदशीका राति देखि भक्तजनहरू बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गर्ने गर्दछ।





















