कास्की- ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी थालिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु थालिएको हो।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ। यसको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ। सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्वमान चित्रमा स्थापित गराइ खेल पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता बढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए।
पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो। विश्वका ठूला सहरमा आयोजना हुने म्याराथन जस्तै पोखरा म्याराथन सधै चर्चामा रहेको अध्यक्ष पराजुलीले बताए।
‘म्याराथन आयोजनाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ। पोखराको ठूलो इभेन्टका रुपमा स्थापित भएको छ, १८औँ संस्करणमा ५० वटाभन्दा बढी देशका धावक पोखरा आउने विश्वास लिएका छौँ,’ अध्यक्ष पराजुलीले भने।
म्याराथनका लागि मञ्चले विभिन्न उपसमिति गठन गरी तयारीमा जुटेको अध्यक्ष पराजुलीले बताए। म्याराथनमा विदेशी धावकको सङ्ख्या बढाउनका लागि वैदेशिक समन्वय उपसमिति गठन गरी विदेशमा पनि प्रचारप्रसार गरिएको छ।
संस्थाका प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङले पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको बताए। उनले सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्यलगायतको विभिन्न विषयमा तयारीका काम अघि बढाइएको बताए।
म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ उपसमितिको संयोजक रहेका छन्। यसैगरी अनुगमन तथा निरीक्षण उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल र प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक रहेकाछन्।


