काठमाडौँ- ‘एजुकेसन इन्टरनेसनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ।
राजधानीमा एक कार्यक्रम गरी सङ्गठनले प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षक हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ।
एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १०.८१ प्रतिशत निजी विद्यालयका शिक्षकलाई उत्तरदाताका रुपमा संलग्न गराइएको थियो।
एजुकेसन इन्टरनेसन विश्वका शिक्षकहरुको साझा संस्था हो। यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको पेसागत क्षमता विकास र उनीहरूको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताए।
अनुसन्धानकर्ता फ्र्याङ्क लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमतावृद्धिका साथै अधिकार प्राप्तिाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिए।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाए। नेपाल शिक्षक सङ्घका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमतावृद्धिका लागि आफूले स्थानीय तहसँगको सहकार्यमा काम गरिहरेको जनाए।


