काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर २८) गतेबाट सूर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ। बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले महानगरमा सुर्तीजन्य पदार्थ बन्देज लगाइएको जानकारी दिए।
‘प्लास्टिकमा प्याकिङ् गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो। तर, यसो होइन। सूर्तीजन्य वस्तु प्लास्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो,’ उनले भने, ‘प्लास्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लाष्टिक प्याकिङको कुरा जोडिएको हो। कच्चा सूर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सूर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो।’
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ मा सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने, खुल्ला बेच्न नपाइने, उमेर नपुगेका बालबालिकालाई बेच्न नपाइनेलगायत व्यवस्था छन्। सार्वजनिक स्थलमा धूम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर विक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्ने सम्मको कारवाही गर्न सकिने ऐनमा व्यवस्था छ।
यस्ता बस्तुको प्रयोगले जनस्वास्थ्य, वातावरण र सहरी सुन्दरतामा पुर्याएको खराब असर रोक्न भोलिबाट अनुगमन थालिनेछ। अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोसाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन्।
‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ,’ उनले भने।
चुरोट, विँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धूम्रपान मानिन्छ। सूर्तीजन्य वस्तुमा कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने वस्तुलाई मान्ने गरिन्छ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छन्। ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ।



