बारा- बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद र झडप भएपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो।
नगरपालिकाका मेयर किशोरी शाहले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन नगरपालिका लैजान खोज्दा कर्मचारी र स्थानीयवासीले विरोध गरेका थिए। यसपछि विवाद बढेर झडपमा परिणत भएको थियो।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट घाइते भएका १ जनालाई नारायणी अस्पतालले मृत घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार मृतक सिम्रौनगढ-१ का अन्दाजी २१ वर्षीय लक्ष्मी मुखिया हुन्।
उनको टाउकोमा गोली लागेको थियो। आन्दोलनरत कर्मचारीहरूले मेयर किशोरी साह कलवारको गाडीमा तोडफोड पनि गरेका थिए। लामो समयदेखि तलब नपाएको भन्दै कर्मचारी आन्दोलनरत छन्। धर्ना दिइरहेको समयमा मेयर र प्रशासकीय अधिकृत आएपछि झडपको स्थिति बनेको थियो।
त्यसक्रममा प्रहरीले अश्रुग्यास पनि चलाएको थियो। प्रहरीले हवाइ फायर गरेको बताएपनि मृतकको टाउकोमा गोली लागेको विषयमा खुलाइएको छैन। झडपमा १० जनाभन्दा बढी घाइते भएका छन्।
कर्मचारी र शिक्षकले मेयरमाथि आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण लिन फायर गर्नुपरेको प्रहरीको भनाइ छ।


