काठमाडौँ- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले धरौटी बुझाएका छन्।
पाटन उच्च अदालतले बिहीबार ३० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उनले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका हुन्।
अदालतमा धरौटी बुझाए पनि खाण प्रहरी नियन्त्रणमै छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराउन लागिएको छ। विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन्।
यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीश रुपमा कृष्णराम कोइरालले यो यो मुद्दा हेरेका थिए। कोइरालाले छोड्ने पक्षमा राय दिएका थिए।
मंसिर १५ गते उच्चका न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए। न्यायाधीशहरूकै राय बाझिएपछि कृष्णरामले मंसिर २८ गते ३० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएका थिए।


