भक्तपुर- चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ। नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गरेका हुन् । चाँगुनारायण नगरपालिका –५ छालिङमा २१ रोपनी ३ आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार ८१९ मा निर्माण भएको हो।
त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए।
नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले ३ करोड, केन्द्र सरकारबाट ७ करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो।


