काठमाडौं– समूह गायनमार्फत स्थापित मंगोलियन हार्टले सांगीतिक यात्रा थाल्ने भएको भएको छ। सन् १९९२ मा स्थापित समूहको गायनमा राजु लामा चर्चित रहेका छन्। विशेषगरी ‘पप’ विधाको गीत–संगीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्छन्।
गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको संगीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ। उही र उस्तै शैलीमा समूहसँगै गायक लामासमेत ‘स्पटलाइट’मा चम्किएका छन्।
सांगीतिक भाषामा ‘ब्यान्ड’ भनिने मंगोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ। स्थापना भएको ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए।
‘हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौं र उत्साहित पनि छौं। केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौं’, उनले भने।
लोक, स्लोरक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन रहेका छन्।
२७ चैतमा अस्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले बताए। यो समूहको ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छन्।


