काठमाडौँ- नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीमाथि १–० को जितसँगै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराको ७ खेलबाट १४ अङ्क भएपछि पहिलो स्थानमा उक्लिएको हो।
पोखराले दोस्रो स्थानको धनगढीसँग खेल्न बाँकी छ। यो शुक्रबार हुने छ।
एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले फाइनलमा पुग्ने क्वालिफायर खेल्नेछन्। त्यो क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को खेल खेल्न पाउनेछ।
काठमाडौंको दशरथ रंगशालामा पोखरालाई जिताउन खेलको एक मात्र गोल मोसेस ग्याबाहले दोस्रो हाफको इन्जुरी समयमा गरे। आयुष घलानको पासमा उनले गोल गरेका थिए।


