काठमाडौं- ब्राजिलियन स्टार नेयमारले आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका फुटबल गुमाउने भएका छन्। अक्टोबर १७ मा विश्वकप छनौट अन्तर्गत उरुग्वे विरुद्धको खेलमा घुँडाको चोट बोकेका उनले कोपा अमेरिका गुमाउने भएका हुन्। कोपा अमेरिका २० जुनबाट सुरु हुनेछ।
ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लाम्सारले नेयमार कोपा अमेरिकाका लागि तयार नहुने बताएका हुन्। चोटका कारण नेयमारको घुँडाको अप्रेसन भएको थियो।
डाक्टर लाम्सारले नेयमारले कोपा अमेरिका खेल्नु ‘अनावश्यक जोखिम’ भएको बताए। उनले नेयमार सन् २०२४ को सिजनको सुरुवातमा खेल्नका लागि तयार हुने बताए। ‘उनले २०२४-२५ को सिजनको सुरुवातमा फेरी फुटबल खेल्न सक्छन्। हामीले धर्य राख्नुपर्नेछ। ९ महिना भन्दा पहिले उनी मैदान फर्किने कुरा निकै हतारो हुनेछ,’ लाम्सारले भनेका छन्।
योसँगै ब्राजिलियन टिमले कोपा अमेरिकाका लागि आफ्ना शिर्ष गोल (७९) कर्ता नेयमारलाई गुमाउने पक्का भएको छ।


