काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र उनका श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भैरहवा-कोलोम्बो सिधा उडान गर्ने विषयमा छलफल भएको छ।
नेपाल र श्रीलंकाबीचको संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका श्रीलंकाली समकक्षी साब्रीसँग बुधबार यो विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको हो। भेटमा काठमाडौँ र कोलोम्बोबीचको सीधा हवाई सम्पर्कको परिणाम उत्साहप्रद देखिएको विषयमा समेत कुराकानी भएको थियो।
भे६मा नेपाल र श्रीलंकाबीच आपसी व्यापार तथा लगानी प्रवर्द्धन, दुई देशबीचको हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन र शिक्षाक्षेत्रमा सहयोग आदानप्रदान, सार्क र बिमस्टेक जस्ता क्षेत्रीय संस्थाहरूको सबलीकरणलगायतका बहुपक्षीय फोरममा सहयोग बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यसका साथै श्रीलंकाली जेलमा रहेका तीन जना नेपालीलाई फर्काउने विषयमा पनि मन्त्री साउदले साब्रीसँग कुराकानी गरेका थिए। उनीहरुबीच जलवायु परिवर्तनले पारेका असरलगायतका विषयमा पनि कुराकानी भएको थियो।
यसैबीच नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक भइरहेको छ। होटल याक एन्ड यतीमा जारी बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी छन्।
बैठकको समापन पछि विज्ञान तथा प्रतिधि र नवप्रवर्तका क्षेत्रमा साझेदारी समझदारीमा हस्ताक्षर हुनेसमेत जानकारी दिइएको छ।


