चैनपुर (बझाङ)- साइपाल गाउँपालिका –४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। ७ दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ। च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन्।
विगत सम्झँदै उनी भन्छन्, ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे। ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ। बखर चराउँदै बेच्थ्यौँ।’
उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो। ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पु¥याउँथ्यौँ। ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन। नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,’ उनी भन्छन्। तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो। ‘बुढ्यौलीले छोयो। ताक्लाकोट जान पनि सकिँदैन। कोरोना आएपछि नाका बन्द भयो। गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो।’
वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए। ‘आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन्। त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन्। हामी ढिके नुन खाँएर हुर्कियो, केही भएन। क्या हो, क्या हो !’
खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ। ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ। अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै।’
गाउँमा २०६४÷६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे। एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाइन्। ‘सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो। त्यो अहिले पनि सम्झना छ।’ त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उनले बताइन्।
वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताइन्। ‘सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ। आजभोलि त घर घरै साल्ट्र टे«डिङको नुन पुगिसक्यो,’ उनले भनिन्।
जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ। सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र टे«डिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए। उनले भने, ‘अहिले सबै ठाउँमा पर्याप्त नुन छ। साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ। धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ। अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ।’ अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले बताए। उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ। यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए।
‘सरकारले विगतका वर्षहरुमा भन्दा कम वजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ। थपका लागि पत्राचार भएरहेको छ।’
डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए। ‘पहिले नियमित बिक्री गथ्र्यौँ। अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो। त्यसैले साप्ताहिक रूपमा बेच्न सुरु गरेका हौँ,” उनले भने।


