काठमाडौँ- धनुषामा प्रहरीले गोली चलाउँदा १ जना घाइते भएका छन्। स्थानीयले प्रहरी चौकीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो।
धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा २ पक्षबीच विवाद भएपछि १ जनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको जानकारी दिए।
उनले भने, ‘अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप प्रहरी पठाएका छौं । म पनि उतै लागेको छु ।’
धनुषाको हंसपुर नगरपालिका ५ मा २ समूहको विवाद पश्चात १ जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका हुन्।
सयौँको सङ्ख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन्।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशङ्कर मण्डल घाइते भएका हुन्।
हंसपुर नगरपालिका ५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए। तर, ६५ वर्षीय मण्डल नै कुटिए।
मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेका हुन्।


