काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिंहदरवार र बागदरवारबीचमा देखिएको टकरावको अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग वार्ता गर्न आग्रह गरेका हुन्।
‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्,’ उनले भने। थापा काठमाडौं-४ बाट निर्वाचित सांसद हुन्।
उनले संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको बताए।
मेयर शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन्। शाहको निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठ्न सकेको छैन। उनले देशका धेरै पालिकाका प्रमुख सिंहदरबार धाइरहेको देखिएकाकाले त्यो अवस्था अन्त्य गर्नुपर्ने बताए।
‘अहिले सिंहदरबार गयौं भने पालिकाका प्रमुख हल्लिरहेको देखिन्छ। निजामती ऐन, स्वास्थ्य ऐनलगायतका गर्नुपर्ने काम हामीले गरेका छैनौं। संघको सरकारले प्रोएक्टिभ भूमिका खेल्नुपर्ने हो। संविधान र कानूनले भन्छ तीन तहको सरकारको अन्तरसम्बन्ध बनाउनका लागि अन्तर प्रदेश परिषद्, राष्ट्रिय परिषद् लगायतका संयन्त्र सक्रिय हुनुहुपर्छ,’ उनले भने, ‘प्रदेश परिषद्को बैठक ०७६ साल देखि बैठक बस्न सकेको छैन। राष्ट्रिय परिषद्ले पूर्णता पनि पाएको छैन। काठमाडौं महनगरपालिकासँग देखिएको टकराब आजै टुंग्यायोस्। संघले बनाउनुपर्ने कानून संसद्मा ल्याइयोस् हामी काम गर्न तयार छौं। स्थानीय सरकार काठमाडौं आएर सिंहदरबार वरीपरी घुम्नुपर्ने अवस्थाको अन्त्य गरियोस्।’


