विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्। नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहान्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन,’ पौडेलको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिएका उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने भनाइ राखे।
‘सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ,’ उनले भने।
नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै राष्ट्रपति पौडेलले त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ भने। ‘सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने।
सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको प्रसंग उल्लेख गर्दै उनले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्ने बताए।


