काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताएका छन्।
मध्यपहाडी लोकमार्गकेन्द्रित एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई ललितपुरमा सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन्।
‘समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ। तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ,’ उनले भने।
उनले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताए। ‘यस क्रममा हामी विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ। हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ,’ उनले भने।
बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका अभियानमा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरु, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ।


