काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा भूटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन्। आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ। शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन्। तर सोमबार र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धिकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतको भनाइ छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा छोड्न आदेश दिएका अरु आरोपी धरौटी रकम बुझाएर यसअघि नै रिहा भए पनि रकम बन्दोबस्त गर्न नसक्दा रिजालले ढिला गरी मात्र बुझाएका हुन्।


