काठमाडौं– आइतबार दिउँसो दशरथ रंगशालामा भएको मछिन्द्र क्लब र संकटा बीचको खेलको स्कोर थियो, १–१। पहिलो खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्ती मगर र २१ औ मिनेटमा संकटाका मनिष डाँगीले गोल गरेका थिए।
दास्रो हाफको सुरुमै ओलावा अफिजले गोल गरेपछि मछिन्द्रले फेरी अग्रता खोसेको थियो। खेल अवधिभरी सोही अग्रता कायम रह्यो र मछिन्द्रले २–१ को जित निकाल्यो। मछिन्द्र नयाँ प्रशिक्षक किशोर कुमार केसीको नेतृत्वमा पहिलो खेल खेल्दै थियो। केसीको डेब्यू खेलमा मछिन्द्र संकटालाई पराजित गर्न सफल रह्यो।
‘खेल प्रतिस्पर्धात्मक नै रह्यो। त्यसमा हामीले बाजी मारेको हो। म आएपछि अभ्यास गराउन पाएको छैन। सीधा खेलाउन आएको हो,’ मछिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले भने, ‘मैले लिग जित्ने आशा राखेको छु। यो टिम भन्दा पनि प्रतिस्पर्धाको समय हो। म त्यसको लागि तयार छु। दबाब भएन भने जिवनको मज्जा नै हुँदैन।’
मछिन्द्रको जितमा ओलावालेको गोल निर्णायक रहे पनि उनले दोस्रो हाफमा २ गोलका अवसर गुमाएका थिए। एकपटक विमलको क्रसमा उनको हेडर पोस्टको पहिलो बारमा ठोक्किएर बाहिरिएका थियो। खेलमा १५ मिनेट बाँकी रहँदा विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गरेको प्रहार सोही पोलमा ठोक्किएर फर्किएको थियो।
‘यो दक्षिण एसियाको फुटबल हो। साधारण गल्ती गरिरहेको देख्दा दुख्छ नि! विदेशी खेलाडीले पनि गल्ती गरिरहेको देखिन्छ। फुटबल हो, भन्न सकिन्नँ। खेलाडीलाई नै माया गर्नु पर्यो,’ खेलपछि केसीले भने। आजको जितसँगै साविक विजेता मछिन्द्रले जारी ए डिभिजन लिगमा पाँच खेलको अपराजित यात्रा पुरा गरेको छ।
‘नयाँ तालिकामा खासै रेस्ट छैन। यसले सबैलाई गाह्रो परिरहेको नै छ। फिफाले नै दुई दिनपछि मात्र खेल गराउने भन्ने छ। तर, यहाँ त्यसो हुन सकिरहेको छैन,’ खेललपछि प्रशिक्षक सल्यानले भने।
यता प्रशिक्षक केसीले भने मछिन्द्रका खेलाडी र अफिसियलसँग समय बिताउन पाएकै छैनन्। उनले पहिलो खेल आज खेलाए, अर्को खेल मंगलबार छ। ‘यो सेड्युल टाइट छ। पर्सी अर्को खेल छ। भोली अभ्यास गराउने कुरा भएन। तर, टिममा धेरै कुराहरु छन्। सबैको सहयोग लिएर हामी काम गर्नेछौं। आजको टिम त्यसरी नै बनाएको हो,’ प्रशिक्षक केसीले अन्तिममा भने।

संकटालले पनि आज धेरै अवसर बनाएको थियो। मैदानको सेन्टरबाट अट्याक गरिरहेका मनिष डाँगीले थप केही अवसर पाएर पनि गुमाए। ‘आजको खेल धेरै प्रतिस्पर्धी भयो। तर, हाम्रो भागमा हार पर्यो। हार्ने उद्देश्य थिएन। हामीले दबाबमा राखे पनि स्कोर निकाल्न सकेनौं। हार स्विकार गरेर जानु पर्ने अवस्था आएको थियो। तर, हामीले क्षमताको ५० प्रतिशत पनि खेल्न सकेनौं,’ खेलको बयान गर्दै संकटाका प्रशिक्षक सल्यान खड्गीले भने।
उनले डिफेन्समा चुकेको बताए। ‘डिफेन्समा चुकेको जस्तो लागेको छ। त्यसैले विमलको गोल भयो। दोस्रो हाफमा सम्हालिन नपाउँदै गोल खान पुग्यौँ। डिफेन्समा ल्याप्सेज भयो,’ उनले भने, ‘टिकेन्द्र(सिंह थापा) राम्रो खेलिरहेका छन्। सुनिल र सरोज दहाल विदेश गइहाले। नयाँ खेलाडीले सरोजको अभाव त पुरा गरिदिएका छन्। यता अवसर पनि सिर्जना भइरहेका छन्। तर अट्याक राम्रो हुन सकेन। फरवार्डमा ९९ नम्बरको उसको बलियो खेल थियो।’
छिरिङ गुरुङ मैदानमै ‘कोल्याप्स’
खेलको इन्ज्युरी समय सुरू भइसकेको थियो। मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङ टाउको ठोक्किएपछि मैदानमा लड्न पुगे। उनी गम्भीर घाइते भएको भेउ छेउमा रहेका सबैले पाइहाले। नजिकै थिए, संकटा क्लबका प्रशिक्षक सल्यान खड्गी। उनी मेडिकल टिमभन्दा पहिले मैदानभित्र पुगेका थिए।
‘लगभग कोल्याप्स नै थियो। म मेडिकल पर्सन त होइन। तर जिब्रो काट्न नदिनु भन्ने थियो। म नजिक थिएँ। आफूलाई रोक्न सकिनँ। फुटबल आफ्नो ठाउँमा ह्युमानिटी थियो। जिब्रो टोक्न दिइनँ मुख बन्द गर्न दिइन्,’ मैदानको अवस्थाको बयान गर्दै प्रशिक्षक सल्यानले भने, ‘एक मिनेट होल्ड गर्न गाह्रो भइरहेको थियो। बन्द भइसकेको थिएन। तर, मेरो शक्तिले पुगिरहेकै थिएन। उसको श्वासप्रश्वास रोकिन दिइनँ।’
केही समय मैदानमै प्राथमिक उपचार गरेपछि छिरिङको होस आएको थियो। उनलाई त्यसपछि अस्पताल लगिएको छ। उनको अवस्थाबारे प्रशिक्षक केसी अपडेट दिएका छन्, ‘श्वास फेरेको छ भन्ने छ, राम्रो छ भन्ने छ।’
पछिल्लो समय लिगमा घेरै घाइते भइरहेका छन्। लिगको व्यस्त तालिकाका कारण पनि खेलाडी घाइते हुने दर बढेको हो। कोभिड १९ को महामारीपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि दुई दिनको ग्यापमा मात्र खेल गर्न भनेको छ। तर यो लिगमा त्यो नियम पालना गरिएको छैन्।


