काठमाडौँ- पछिल्लो समय २१ जना नेपाल प्रहरी सम्पर्क विहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले गैर हाजिर रहेको भन्दै २१ जना प्रहरीका लागि ७ दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै १ जना प्रहरी वरिष्ठ हवलदार, ५ जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी १ महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ।
पछिल्लो समय नेपाल प्रहरीमा जागिर छाडेर जानेको संख्या बढिरहेको छ। सरकारी जागिर छाडेर वर्षेनी ठूलो सङ्ख्यामा नेपालीहरू विदेश गइरहेका खबर पनि बेलाबखत आउने गरेका छन्।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले ७ दिन भित्र स्पष्टीकरण सहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ।



