काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा परेको छ। जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेसी तोकिए पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश भएको हो।
आइतबार यो मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा पेसी तोकिएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्न आदेश भएको थियो। यसअघि पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएका थिए। यो मुद्दा अहिलेसम्म ३४ पटक पेसी चढिसकेको छ। यसमाथि बिहीबार सुनुवाइ हुनेछ।
२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेका थिए। पछि इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनी नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।


