काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।
पीडित र पीडक दुवैतर्फका वकिलको बहस सकिएपछि अदालतले यस्तो फैसला गरेको हो।
यसअघि पटकपटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएका थिए। यो मुद्दा अहिलेसम्म ३४ पटकभन्दा बढी पेसी चढिसकेको थियो।
२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेका थिए। पछि इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनी नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।
फैसला आएसँगै उनले जेलमा बस्नुपर्ने भएको छ। यद्यपि उनी कति समय जेल बस्नुपर्ने भन्ने निर्धारण हुन बाँकी छ।
पीडित नाबालिग भनिएको दाबी पनि अदालतले अस्वीकार गरेको छ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने नतोकिएको हो।
१८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गर्दै सन्दीपविरुद्ध मुद्दा दायर भएको थियो। तर पीडित युवती बालिग ठहर भएसँगै उनले पाउने सजाय केही कम हुने भएको छ।


