काठमाडौँ- भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन्।
चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन्। औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामी सङ्ख्या बढ्दै गएको भए पनि औषधी नभएको बताए। चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ। औषधी नहुँदा उपचार गर्न नसकिएको उनको भनाइ छ। स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधीसमेत दिन नसकेको शाहीले बताए।
जुनीचाँदे गाउँपालिका–६, दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधी अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताए।
उनले गाउँपालिकामा औषधीको माग गरे पनि आउन नसकेको जनाए। चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्। जुनीचाँदे गाउँपालिकाका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव रहेको छ। जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो। यहाँ अत्यधिक चिसो हुने गर्छ।
जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ। जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधी खरिद नगरेको र जिल्लाले औषधी नपठाएका कारण समस्या भएको बताए। उता स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधी गइरहेको तर जुनीचाँदेले औषधी नै माग नगरेको दाबी गरिन्। औषधीको स्टक सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उनको भनाइ छ।


