काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि खडा गर्ने उम्मेदवार छान्न मापदण्ड बनाउने निर्णय गरेको छ। पुस १२ गते सुरु भएर १४ गते सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
पार्टीमा लामो समयसम्म योगदान गरेका तर अवसर नपाएकाहरूलाई प्राथमिकताका आधारमा राष्ट्रिय सभामा निर्वाचनमा उम्मेदवार बनाउने कांग्रेस बैठकको निर्णय छ। पार्टीको उम्मेदवार भएर पनि जित्न नसकेकाहरूलाई पनि उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ। यस्तै माघ ७ देखि २२ सम्म समुदायमा कांग्रेस अभियान चलाउने निर्णय पनि गरेको छ।
यसैगरी जाजरकोट भूकम्पमा परी घरबारविहीन बन्न पुगेका १ हजार घर बनाएको कांग्रेसले बाँकी घर बनाउने कामलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। यस्तै अस्थायी आवास बनाउनका लागि तत्काल रकम निकासा गरी पीडितका हातमा पुर्याउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
यसैगरी बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्न माग गर्ने निर्णयसमेत भएको विश्वकर्माले जानकारी दिए।
बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले गरेका कामका विवरण माग प्रस्तुत गरेका थिए।
बैठकले गरेका निर्णयहरू आधिकारिक रूपमा आइतबार दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने विश्वकर्माले बताए।


