काठमाडौँ- रिन्कु सिंह र भेन्कटेस अयरले शानदार प्रदर्शन गरेको खेलमा कोलकत्ता नाइट राइडर्सले गुजरात टाइटन्सलाई तीन विकेटले हराएको छ। आईपिएलअन्तर्गत आइतबार रातिको खेलमा २०५ रनको लक्ष्य पाएको कोलकत्ताले सात विकेट गुमाएर लक्ष्य पुरा गर्दै जित निकालेको हो।
पहिलो पारीमा विजय शंकरले ६३ र साई सुदर्शनले ५३ रन बनाएपछि गुजरातले चार विकेट गुमाएर २०४ रन बनाएको थियो। उतिबेला सुनियल नायरले तीन विकेट लिएका थिए। जवाफमा रिन्कुले २१ बलमा ४८ रन बनाए भने भेन्कटेस अयरले ४० बलमा ८० रन बनाएका थिए। यससँगै कोलकत्ताले निर्धारित लक्ष्य पुरा गरेको हो। यता बलिङमा राशिद खानले तीन र जोसेपले दुई विकेट गिराएका थिए।
गएरातिकै अर्को खेलमा पञ्जाबले पहिलो हार बेहोर्दा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ। हैदराबादको घरेलु रंगशालामा भएको खेलमा पञ्जाबले ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सकेको थियो। जवाफमा दुई विकेट मात्र गुमाएर हैदराबादले १७ बल बाँकी रहँदै लक्ष्य पुरा गरेको थियो।
म्यान अफ दी म्याच शिखर धवनले ६६ बलमा अविजित रहँदै ९९ रन बनाएका थिए। हैदराबादका मयंक मार्कन्डेले चार विकेट लिए। जवाफमा राहुल त्रिपतिले ७४ रन बनाए।
गएरातिको खेलपछि कोलकत्ता दोस्रो स्थानमा पुगेको छ भने गुजरात चौथो स्थानमा छ। दुवैको ४–४ अंक छ। समान चार अंक सहित पञ्जाब छैटौं स्थानमा छ। आईपीएलको तेस्रो चरणको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले लखनउको सामन गर्नेछ।


