काठमाडौँ- शुक्रबार बालकुमारीमा भएको घटनाका बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिमा जवाफ दिने भएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ मागेको हो।
समितिको सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा जारी बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।
छलफलका लागि गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको समितिले जनाएको छ। यो समितिको सभापति कांग्रेस नेता रामहरी खतिवडा छन्।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।


