काठमाडौँ- सन् २०२४ मनाउन मुक्तिनाथमा नेपाली धनाढ्यको जम्काभेट भएको छ। अस्ट्रेलियाको धनाढ्यमा गनिने नेपाली शेष घले श्रीमतीसहित मुक्तिनाथ पुगेका हुन्।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष समेत रहेका घले तथा उनकी पत्नी जमुना करिब १२ अर्ब लगानीमा काठमाडौँमा पाँचतारे होटेल शेराटन काठमाडौँ निर्माण गरिरहेका छन्।
उनीहरूका लागि न्यु इयर इभ र नयाँ वर्ष मनाउन विश्वका जुनसुकै देश रोजाइमा पर्न सक्थ्यो। आफ्नो बिजनेस मिटिङका लागि युरोप, अमेरिका वा अन्य विकसित देश गइरहने घले दम्पतीलाई यसपालिको न्यु इयर इभ र नयाँ वर्ष मनाउन भने आफ्नै जन्मभूमिमा पुग्ने चाहना पलायो।
नेपालको ३ हजार ७ सय १० मिटर उचाइमा रहेको मुक्तिनाथमा घले मात्र होइनन् वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य पनि नयाँ वर्ष मनाउन मुक्तिनाथ पुगेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष रहेका उनको अर्गनाइजेसनले नेपालमा जापानी गाडी निर्माता कम्पनी टोयोटाको आधिकारिक वितरण गर्छ। वैद्यकी पत्नी ऋतुसिंह वैध वैद्य अर्गनाइजेनसका प्रबन्ध निर्देशक हुन्।
घले दम्पतीले सकेसम्म हरेक वर्ष न्यु इयर इभ र नयाँ वर्ष मनाउन मुक्तिनाथ आउने योजना बनाएको बताए। विविध कारण आफूहरु आउन नसकेको अवस्थामा अरूलाई मुक्तिनाथ उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले भ्रमणमा जान विश्वभरि सन्देश दिने बताएका छन्। उनीहरूको आगमनले पनि त्यो सन्देश विश्व भरी फैलिने छ।
नयाँ वर्षलाई पवित्र भूमिमा गएर स्वागत गर्ने र रमाइलोसँग मनाउने उद्देश्य बोकेर मुक्तिनाथमा परिवारसहित आएको वैद्य अर्गनाइजेसनका अध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष वैद्यले बताए। सहरको भिडभाडबाट टाढा र प्रकृतिसँग नजिक रहेर नयाँ वर्षको स्वागत गर्न पाउँदा र यहीँ मनाउन पाउँदा निकै खुसी लागेको उनको प्रतिक्रिया छ।
मुक्तिनाथमा व्यवसायी सोनाम लामाले लगानी र अथक मिहिनेतपछि सुविधा सम्पन्न रिसोर्ट निर्माण गरेका छन्। जसका कारण धनाढ्यहरूको न्यु इयर इभ र नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य मुक्तिनाथ क्षेत्र परेको हो।
