काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड मागेको प्रकरणलाई छानबिन गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले श्रेष्ठले साढे २ करोड मागेको अडियो प्रकरणमा संसदीय छानबिन हुनुपर्ने बताएका हुन्। उनले श्रेष्ठले अडियोमा सांसद श्रेष्ठले कोर टिमलाई बुझाउनुपर्ने बताएको उल्लेख गर्दै कोर टिम भनेको को हो? भनेर प्रश्न समेत गरे।
‘आजको सबैभन्दा खराब रोग भ्रष्टाचार नै हो। भ्रष्टाचारको उपचार पारदर्शिता हो। प्रतिनिधिसभा सदस्य भइसकेकाले मन्त्री बन्नकै लागि व्यवसायीसँग गफगाफ गरेको सुनियो। त्यो भन्दा लज्जाबोध के हुन सक्छ?,’ उनले भने, ‘त्यस्तो गफ आइसकेपछि मैले यहाँ दूधको साक्षी बिरालो बसेको सुन्छु। त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को? त्यसको पनि छानबिन गर्नुपर्छ। संसदीय छानविन समिति बनाएर निष्पक्ष छानबिनको माग गर्दछु।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुलिएको घटनाका दोषीलाई पनि कारबाही गर्नुपर्ने उनको भनाइ थियो। उनले यो घटनामा ठूला नेताको नाम जोडिएको भन्दै गृहप्रशासनले उनीहरुलाई कारबाही गर्नुपर्ने बताए।
‘नेपालीलाई भुटानी शरणार्थी बनाइदिने, करोडौँ उठाइदिने। यसमा ठूलै नेताको नाम पनि जोडेर समचार आएको छ। के ठूलालाई चैन सानालाई एन हो त यसघटनामा जतिसुकै ठूला नेताको नाम जोडिएपिन गृह प्रशासन काप्न हुँदैन। दह्रोसँग खुट्टा टेकेर कानूनको कठघरामा उभ्याउनुपर्छ,’ उनले भने।
यो घटनामा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा र सचिव टोपबहादुर रायामाझीको नाम जोडिएको छ।


