काठमाडौँ- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र गत महाधिवेशनमा उनीसँग प्रतिस्पर्धा गरेका भीम रावलबीचको द्वन्द्वले सुदूरपश्चिमका कार्यकर्तालाई चेपुवामा परेका छन्। पछिल्लोस समय रावलले गतिविधि बढाउँदा जिल्ला तहका नेता तथा कार्यकर्तालाई अप्ठेरो परेको हो।
एमालेको १०औँ महाधिवेशनअघिदेखि नै रावल र ओलीबीच वैमनश्यता छ। १०औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन जोडबल गरेका अध्यक्ष ओली अन्ततः रावलकै अडानका कारण चुनाव गराउने अवस्थामा पुगेका थिए। पार्टीमा बलियो पकड बनाएका ओलीले फराकिलो मतान्तरले रावललाई पराजित गरे। यसपछि उनीहरुको सम्बन्धमा झन् बढी फाटो आएको छ। महाधिवेशनपछि एमालेले रावललाई कुनै पनि प्रकृतिको जिम्मेवारी दिएको छैन। पार्टीले आफूलाई कुनै जिम्मेवारी नदिएपछि रावलले आफ्नो प्रभाव क्षेत्र सुदूरपश्चिममा गतिविधि बढाउन थालेका छन्।
मंसिर १४ गते एमालेले बैतडीको झुलाघाटबाट पूर्वपश्चिम मध्यपहाडी राजमार्ग यात्रा सुरु गरेको थियो। मंसिर भर चलेको यात्रामा ओली पनि पूर्वपश्चिम यात्रामा सहभागी भएका थिए। तर रावलकै प्रभाव क्षेत्रमा पनि ओलीले बाइपास गरेपछि रावलले पनि गतिविधि बढाउन थालेका हुन्। डडेल्धुरा पुग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरी जानकारी गराएका ओलीले अछाम पुग्दा आफैसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई सम्झिएनन्। रावलको गृहजिल्ला अछामको मंगलसेन र साफेबगरमा आयोजित सभामा पनि रावल अनुपस्थित थिए। १८ दिनसम्म चलेको एमालेको मध्यपहाडी संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको थियो।
एमालेले माघभरमा जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यी जिल्ला अधिवेशनमा रावलले आफ्नो उपस्थिति बढाउने गरी जिल्लाजिल्लामा कार्यक्रम गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ। जिल्लाका अधिवेशनमा ओफ्नो शक्ति बढाएर देखाउने रणनीतिमा रावल छन्।
पछिल्लो केही सयम गृहजिल्ला अछाममा रहेका रावलले विभिन्न पालिकाहरूमा गएर पार्टीकै ब्यानरमा भेटघाट र छलफललगायतका कार्यक्रम गरेका थिए। पार्टीकै ब्यानरमा काम भएको तथा केन्द्र र राष्ट्रिय राजनीतिमा ‘हाइट’ बनाएको नेताले जिल्ला र पालिका तहमा भेटघाटमा बोलाउँदा रावललाई बाइपास गर्न जिल्ला तहका नेतालाई अप्ठेरो भएको अछामका एक नेताले बताए।
‘उहाँ राष्ट्रिय रूपमा उचाई बनाएको नेता हो। उहाँले बोलाउँदा नजाने भन्न सकिन्न। तर अहिले केन्द्रमा अध्यक्ष ओलीसँग उहाँको सम्बन्ध राम्रो छैन भन्ने कुरा सबै कार्यकर्तालाई थाहा छ। उहाँले बोलाएको कार्यक्रममा जाँदा भोलि पार्टीको राजनीतिबाट नै किनारा पारिने हो कि भन्ने भय सबै कार्यकर्तामा छ,’ ती नेताले भने, ‘उहाँको कार्यक्रममा नजान पनि अप्ठेरो छ। जान पनि अप्ठेरो।’
रावल निकट स्रोतका अनुसार सबै जिल्लामा प्रतिस्पर्धा गर्ने र भरसक आफ्नो पक्षमा नेतृत्व हात पार्ने रणनीति रावलको छ। अध्यक्ष ओली र उनी पक्षका नेताहरूले सहमतिमा जोड गर्ने भएकाले सहमतिमा जाँदा कम्तीमा पनि आफू पक्षलाई कुनै न कुनै पदमा पुर्याउन सकिने रावलको ठहर छ। यसकारण पनि सुदूरपश्चिमका जिल्लामा आफ्ना कार्यकर्ताहरूलाई सेट गर्न र आफ्नो राजनीति बचाइराख्नका लागि भएपनि कार्यकर्ताहरूलाई पदमा पुर्याउनुपर्ने अवस्थामा पुगेका छन्। ओली र रावल मिल्नुको विकल्प नभएको बताउने एक कार्यकर्ताका अनुसार रावलले आफ्नो राजनीति जोगाउनका लागि पनि जिल्लास्तरमा कुनै न कुनै पदमा आफूनिकटहरूलाई पुर्याउनै पर्ने भएकाले रावलमाथि दबाब परेको देखिन्छ।
पुस १० गते सम्पन्न एमाले सुदूरपश्चिम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रावल पक्षकै सुरत खत्री निर्वाचित भएका छन्। सहमतिमै नेतृत्व छान्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि एमाले केन्द्रीय कार्यालय च्यासलमै मतदान भएको थियो। मतदानमा पूर्वउपाध्यक्ष भीम रावल निकट खत्रीले ६७ मत ल्याएर अध्यक्ष जित्दा उनीसँग प्रतिस्पर्धा गरेका रोशनदेव पन्तले ६२ मत पाए। कमिटीको उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना चयन भए।
रावलले गतिविधि बढाउँदा सुदूरपश्चिममा एमाले कार्यकर्ताहरूलाई अप्ठेरो परेको स्वीकार्छन् पन्त पनि। ‘संस्थापन पक्ष र ओली पक्ष भएर जिल्लामा तहमा विभाजन हुँदा पनि कार्यकर्तालाई अप्ठेरो छ। पार्टीकै ब्यानरहरूमा काम गरिरहेकाले रावलजीले बोलाएको कार्यक्रममा नजाने भन्न पनि अप्ठेरो छ,’ उनले भने, ‘कार्यकर्ता तहमा परेको अप्ठेरोलाई बुझेर पनि नेताहरू मिल्नुको विकल्प छैन। आम कार्यकर्ताहरू पार्टी एकताका पक्षमा छन्। पार्टीमा रावललाई बाइपास गरेर भन्दा समेटेरै जाँदा सबैको ‘विनविन’ स्थिति बन्छ।’
साउन ३० मा ओली र रावलबीच भेट भएको थियो। त्यसयता दोहोरो कुराकानी भएको सार्वजनिक भएको छैन।


