काठमाडौँ- खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ।
नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको हो।
नेविसंघले आइतबार प्रज्ञा भवनमा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमस्थलमा पनि विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न मागसहित ब्यानर राखेको थियो।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले पनि खुला प्रतिस्पर्धाबाट नै त्रिवि उपकुलपति नियुक्ति गर्ने र राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन्। त्रिविमा कुलपतिको पद रिक्त छ।












