काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार लिग चरणकै पहिलो र दोस्रो टोलीबिच प्रतिस्पर्धा हुने भएको छ।
लिग चरणमा पहिलो स्थान बनाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानमा रहेको कोशी प्रदेशबिच आज प्रतिस्पर्धा हुने भएको हो। फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो। आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएर दोस्रो स्थानमा रहेको छ।
एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो। त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो। दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो।
त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
त्यसैले पनि बुधबार हुने एपीएफ र कोशी प्रदेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। यी दुवै टोलीका कप्तान निकै अनुभवी छन्। दुवै टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ। एपीएफ क्लब सीता रानामगर र कोशी प्रदेश रुविना क्षेत्रीको कप्तानमा मैदानमा ओर्लने छ।


