काठमाडौँ – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ। अध्यक्ष ओली र जयशंकरबीच बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा भेट भएको हो।
भेटमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे।
‘भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।
उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटिसकेका छन्।


