काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा दुर्गा पौडेललाई पठाउने सहमति भएको छ।
राष्ट्रपतिबाट एक जना मनोनित गर्ने कोटा रहेकाले उक्त कोटामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गठबन्धनले गरेको हो।
पौडेल गत निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित भएकी थिइन्। थापाले ५ दलको समर्थन पाएकी पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिइन्।
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष छन्।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ। बाँकी एक सिटमा भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।
कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ। तर आइतबार बिहान बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीले ३ सिटमा दाबी गरेको थियो। आफूहरूलाई ३ सिट नदिए थप एक मन्त्रालय दिनुपर्ने नेकपा एसको अडान छ।
यद्यपि गठबन्धनका दल तीन सिट नेकपा एसलाई दिन तयार छैनन्। मन्त्री दिने विषयमा गठबन्धनका नेता सकारात्मक छैनन्। एसको दाबीका कारण अन्तिम सहमति हुन भने बाँकी छ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ताको कार्यक्रम छ।


