काठमाडौँ- राष्ट्रिय सभाका २० सिट फागुन २० गते रिक्त हुँदैछन्। ती सिटमध्ये १९ वटामा सिटका लागि माघ ११ गते चुनाव हुँदैछ भने एक सिटमा राष्ट्रपतिले मनोनित गर्दैछन्।
सुरुमा एमालेलाई पनि साथमै लिएर चुनाव लड्ने विषयमा छलफल गरेको गठबन्धनले उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा भने एमालेका विरुद्ध चुनाव लड्ने मनस्थितिमा पुगेको छ। तर उसले भागबन्डा भने मिलाउन सकेको छैन। भागबन्डा नमिलेपछि नेकपा एस असन्तुष्ट छ।
कांग्रेस नेता रमेश लेखकका अनुसार खाली हुन लागेका १९ मध्ये कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तय छ। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति जुटेको उनको दाबी छ।
तर नेकपा एस भने कम्तीमा आफूले तीन सिट पाउनुपर्ने अडानमा छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई सिट लिन गरेको आग्रह समाजवादीले अस्वीकार गरेको हो।
यसअघिदेखि नै नेकपा एसले कम्तीमा तीन सिट आफूहरूलाई दिनपर्ने अडान राख्दै आएको थियो। ‘तीन सिटको हाम्रो दाबी यथावत् छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘उहाँहरूले दुई सिट मात्रै दिनसक्ने बताएपछि लौ जे गर्नुछ तपाईंहरू नै गर्नुस् भनेर हामी उठेर हिंड्यौं।’
बैठकमा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आफूहरू तीन सिटभन्दा तल नझर्ने बरू एक्लै चुनाव लड्ने बताएका थिए। यसपछि नेकपा एसका नेताहरू बाहिर निस्किए।
यस्तै सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा दुर्गा पौडेललाई पठाउने सहमति भएको छ।

फाइल तस्बिर
यद्यपि गठबन्धनका दल तीन सिट नेकपा एसलाई दिन तयार छैनन्। मन्त्री दिने विषयमा पनि गठबन्धनका नेता सकारात्मक छैनन्। एसको दाबीका कारण अन्तिम सहमति हुन भने बाँकी छ।
राष्ट्रपतिबाट एक जना मनोनित गर्ने कोटा रहेकाले उक्त कोटामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गठबन्धनले गरेको हो।
पौडेल गत निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित भएकी थिइन्। थापाले ५ दलको समर्थन पाएकी पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिइन्।
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष छन्।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ। बाँकी एक सिटमा भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ताको कार्यक्रम छ।


