काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन्। एमाले माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ। एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
को हुन मतदाता ?
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन्। यसको जम्मा मतभार ५७ हजार ५५९ छ।
प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ।
यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ।
कुल जनसङ्ख्यालाई मतदाता सङ्ख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ।


