विराटनगर- नेकपा माओवादी केन्द्रले कोशीबाटै महिलातर्फ राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाउने चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएकी छन्।
सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन्। उनलाई सत्ता गठबन्धनका दलको समर्थन छ।
उनको प्रस्तावकमा माओवादीका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री गणेश उप्रेती र समर्थकमा कांग्रेस प्रदेश सांसद रामकुमार खत्री छन्।
ओखलढुंगाकी चम्पादेवी कार्की २०५४ मा जनयुद्धमा होमिएकी थिइन्। २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी उनी विद्रोह गरेर माओवादी युद्धमा लागिन्।
अहिले ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी चम्पा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन्।
तीन पटक (२०६४, २०७० र २०७९ मा) समानुपातिक सूचीमा परे पनि उनी सांसद बन्न पाएकी थिइनन्।
२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा उम्मेदवार बने पनि पराजित भएकी थिइन्। उनको प्रतिस्पर्धी बनाउनका लागि एमालले सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कोशीमा अन्यतर्फ भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराए। सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा सिटौलाले उम्मेदवारी दिएका हुन्।
उनले कोशी प्रदेशमा अन्य समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। उक्त समूहमा एमालेले भोजपुरका परशुराम अधिकारी र राप्रपाले उद्धव पौडेललाई उम्मेदवारी बनाउने निर्णय गरिसकेको छ।
उम्मेदवारी दर्ता गराएपछि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बन्न लागेको चर्चाबारे पत्रकारहरूले सोधेका थिए।
‘पहिला संसदमा पुगौं, त्यहाँ पुगेपछि उत्तर आउँछ,’ उम्मेदवारी दर्ता गराएर निस्किएपछि सिटौलाले पत्रकारहरूसँग भनेका छन्, ‘मुलुकको प्रगतिका लागि पार्टीले मलाई विश्वास गरेको छ।’


