काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच भेटवार्ता भएको छ।
नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा सोमबार भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरेका थिए।
हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउनेमा विश्वस्त भएको बताए।
आयरल्याण्डमा नेपाली विद्याथर्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने समेत उल्लेख गरेका थिए।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउनेमा विश्वास दिलाएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।


