काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिमाना सुनाएपछि लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन्।
बलातकार मुद्दामा दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ क्यानको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं जिल्ला अदालतले २०८० पौष १३ गते लामिछानले किशोरीमाथि बलात्कार गरेको ठहर गर्दै पौष २५ गते ८ वर्ष कैद र ५ लाख जरिमाना हुने ठहर गरेको थियो।
जिल्ला अदालत काठमाडौँ न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैदको सजाय सुनाएको छ। पीडित ‘गौशाला २६’ बालिग भएकोसमेत अदालतको ठहर छ। यसअघि पीडित पक्षले उनी नाबालिग भएको दाबी गर्दै आएको थियो।



